२.१ जिल्ला परिचय
हुम्ला जिल्ला मध्य–पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने कर्णाली अञ्चलको उत्तर पश्चिम भागमा अवस्थित छ । भौगोलिक क्षेत्रको हिसावले नेपालको दोश्रो ठूलो जिल्ला र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्न आउँछ । मानव विकास सूचाकाङ्कको हिसाबले हुम्ला जिल्ला एचडिआई भ्यालु ०.४३२ सहित ७४ औं स्थानमा रहेको छ ।
अझैसम्म पनि यो जिल्ला सडकको राष्ट्रिय सञ्जालमा जोडिन सकेको छैन । त्यसैले यो जिल्लाको विकासको प्रवेशद्धार अझै सम्म खुल्न सकेको छैन भन्न सकिन्छ । जिल्लामा उपलब्ध श्रोत साधनलाई प्रभावकारी ढंगले उपयोग गर्न गर्न सकिएको छैन । राज्यबाट भएको वहिष्करणको ब्यवहारको कारणले गर्दा यस जिल्लामा बसोबास गर्ने मानिसहरु स्वास्थ, शिक्षा र पोषण जस्ता आधारभूत आवश्यकताको परिपुर्तिबाट बञ्चित रहेका छन् ।
मुगु जिल्लासँग सिमा जोडिएको दक्षिणी भाग भन्दा तिब्बतसँग सिमा जोडिएको उत्तर पश्चिम भेगको स्थिति सापेक्षिक रुपमा राम्रो रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो र यसलाई तिब्बतको सिमासँग सडक यातायातले जोड्ने प्रयास गरिएको छ भने नेपालको अन्य ठाउँबाट पुग्ने साधन भनेको नेपालगञ्ज सिमकोट तथा सुर्खेत सिमकोटको हवाई मार्ग मात्र हो ।
यस खण्डमा हुम्ला जिल्लाको भौतिक, प्राकृतिक, प्रशासनिक तथा ऐतिहासिक विवरण प्रस्तुत गरिएको छ । यसमा खास गरी हुम्ला जिल्लाको भौगोलिक तथा प्रशासनिक अवस्थिति, ऐतिहासिक पृष्ठभूमि, भौगोलिक तथा प्राकृतिक विवरण, जलवायु र जलश्रोतको विवरणको व्याख्या तथा विष्लेषण गरिएको छ ।
२.२ भौगोलिक अवस्थिति र प्रशासनिक तथा राजनीतिक विभाजन
भौगोलिक अवस्थिति हेर्दा हुम्ला जिल्ला २९º ३५ु देखि ३०º ५७ु उत्तरी अक्षांश र ८१º १८ु देखि ८२º १०ु मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । कूल ५६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस जिल्ला नेपालमा डोल्पा पछिको दोश्रो ठूलो क्षेत्रफल भएको जिल्ला हो । हुम्ला समुद्र सतहबाट १५२४ मिटर देखि ७३३७ मिटरमा उचाइमा अवस्थित रहेको यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमा बझाङ्ग र चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछन् । भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएको छ ।
प्रशासनिक हिसावले हेर्दा हुम्ला जिल्ला नेपालको मध्य–पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत कर्णाली अञ्चलमा पर्दछ । ९ इलाका र २७ गाविसमा विभाजित हुम्ला जिल्लामा एक मात्र निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो जुन समुद्र सतह देखि २९४५ मिटर उचाईमा अवस्थित छ। हुम्ला जिल्लाको राजनीतिक तथा प्रशासनिक विवरण तलको तालिका नंं. २.१ मा प्रस्तुत गरिएको छ ।
तालिका नं.द्द।ज्ञः हुम्ला जिल्लाको प्रशासनिक विभाजन
इलाका नम्बर गा.वि.स.को संख्या गा.वि.स.को नाम कैफियत
१ ३ सिमकोट, वरगाउँ, ठेहे निर्वाचन क्षेत्र संख्या १ (एक) मात्र
२ ३ हेप्का, डाँडाफया, स्याँडा
३ ३ खगालगाउँ, मुचु, लिमी
४ ३ छिप्रा, खार्पुनाथ, लाली
५ ४ राया, सर्किदेउ, साँया, बरगाउँ
६ ३ मेल्छाम, गोठी, रोडिकोट
७ ३ श्रीमष्ठा, मिमि, दार्मा
८ ३ जैर, श्रीनगर, कालिका
९ २ मदना, मैला
जम्मा २७ निर्वाचन क्षेत्रः १, इलाका नं. ः ९
२.३ जिल्लाको ऐतिहासिक पृष्ठभूमि
नेपाल राज्यको कर्णाली अञ्चलमा पर्ने हुम्ला जिल्ला एक उच्च संभावना भएके हिमाली जिल्लाको रुपमा चिनिन्छ । यो जिल्ला देशको सुदुर उत्तर पश्चिममा पर्दछ र देशको उत्तरी विन्दु यारी पनि यही पर्दछ । सन् १३९३ मा मेदिनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्नो ज्वाँई बलिराज शाहीलाई दिएका थिए । यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे । बहादुर शाहको कालमा वि.सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि पनि जुम्ला शासित थियो । भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुको साथै तिव्वतको खोजेरसम्मको भू—भागलाई नेपालको प्रशासकीय क्षेत्रको रुपमा मिलाएका थिए । तिब्बतको ताक्लाकोट उत्तर पश्चिममा अत्याधिक रुपमा बसेका नेपालीहरुको स्थितिबाट पनि भक्ति थापाले तिब्बतका अरु भागहरु नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ । वि.सं. २०१८ सालमा भएको नेपाल अधिराज्यको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रुपमा स्थापित हुन पुग्यो । यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसंग रहेको छ । अनगिन्ती हिमश्रृंखलाहरुले भरिएको यो जिल्लाको नामाकरण पनि यसैको सेरोफेरोमा आधारित छ । एक थरीको मत अनुसार यसै जिल्लामा अवस्थित प्रसिद्ध तीर्थस्थल खार्पुनाथमा प्राचीनकालमा कोटी होम लगाएको हुनाले यहीं होम लगाएको अर्थात होम+ला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङरिंग अर्थात साँगुरो नदीबाट अपभं्रस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ । यसका अतिरिक्त हुण जातिहरुको यहीं बाटो भएर ल्हा भञ्ज्याङ्ग काटेर तिब्ब्त क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हाबाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ ।
२.४ माटोको बनावट, उर्वराशक्ति र भू–क्षय
नेपालको अन्य जिल्लासँग यस जिल्लालाई तुलना गर्दा कृषि उत्पादनका हिसाबले कुनै पनि किसिमले कृषि उत्पादनमा प्रयोगमा आउन नसक्ने जिल्लाको आधा जति भू–भाग करिब ३०७२ वर्ग कि.मी. क्षेत्रफल चट्टानले ढाकेको छ यसर्थ यहाँको माटोको बनौट खेती योग्य नभै चट्टान, ग्राभेल र हिउँले ढाकेको छ । फलस्वरुप खेतीपातीका लागि जग्गाको अभाव रहेको छ र वन जङ्गलले ढाकेको अति भिरालो जग्गामा पनि खोरिया फँडानी गरेर खेती गर्ने गरिएको कारण उत्त जग्गा क्षयीकरण भएर मरुभूमिमा परिणत हुँदै गई रहेको छ । यसका साथै यहाँ पनि अन्य क्षेत्रमा भन्दा बर्षाक कम हुने कारण पनि खेतीपाती गर्न त्यति संभव देखिदै तर खोरियाको रुपमा भए पनि केही भागमा मानिसहरु खेतीपाती गरेको पाइन्छ । वास्तवमा यहाँ खेतीको लागि योग्य जमिन नै उपलब्ध छैन । तसर्थ यहाँ १२ महिना खाद्यान्नको अभाव रहन्छ । यहाँ जमिनको वैज्ञानिक उपयोगको आधारमा फलफुल, वन, चरन तथा पशुपालन गर्न उपयुक्त देखिन्छ ।
सिमित मात्रामा भए पनि यस जिल्लामा अन्य जिल्ला जस्तै धान, मकै, कोदो, फापर, गहुँ, र जौको खेति गरिन्छ भने आलू यहाँको मुख्य खाद्यान्नको रुपमा रहेको छ । यस जिल्लाको अधिकांश कृषि क्षेत्रमा उवा मुल खाँद्यान्नको रुपमा लगाउने गरिएको पाइन्छ ।
माटोको प्रकार तथा बनौटले हिसाबले जिल्लालाई निम्नानुसार तीन भाग तथा क्षेत्रमा बाँडिएको छ ।
१. दक्षिणतिरको होचो क्षेत्र : नदि किनारमा अवस्थित तुलनात्मक रुपमा समथर भू–भागमा नदी नालाले बगाएर ल्याएको मलिलो माटो भएको क्षेत्र हो । यहाँ पाँगो, दोमट तथा बलौटे माटो पाइन्छ जसमा धान, गहुँ र मकै खेती गरिन्छ । साथ साथै वनजङ्गल पनि यस क्षेत्रमा पाइन्छ ।
२. उच्च क्षेत्र : भू–भाग उच्च भू–भाग र अग्ला टाकुरा भएको यस क्षेत्रमा धेरै जसो ठाउँमा बाह्ै महिना हिउँले ढाकेको हुन्छ । धेरै जसो भाग चट्टान रहेको छ भने केही भागमा वनजङ्गल पनि रहेको छ । यहा खास गरी गेग्रान र बलौटे माटो पाइन्छ ।
३. सदरमुकाम वरीपरिको क्षेत्र : यस क्षेत्रमा बलौटे र ढुङ्गा मिसिएको माटो पाइन्छ । यस क्षेत्रमा फापर, गहुँ जौ, कागुनो, उवा, चिनो, कोदो, सिमी र आलुको खेती गरिएको पाइन्छ ।
उच्च हिमाली हावापानीका कारण यहाँ धेरै वर्षा नहुने भएकोले यहाँ वर्षाको कारण हुने भू–क्षयको मात्रा सिमित रहेको छ । तर अति भिरालो भू–भाग, खोरिया फडानी गरी खेती गर्ने चलन र धेरै संख्यामा नदीनाला रहेको कारण भू–क्षयको समस्या पनि विद्यमान छ । यसका साथै हिउद याममा हिउँ पहिरो जाने गर्दा भू–क्षय हुने गर्दछ । तर अन्य जिल्ला जस्तो भू–क्षय र नदी कटानको समस्यारहेको छैन ।
२.५. जलवायु
हिमाली जिल्लाको रुपमा चिनिएटको हुम्ला जिल्ला पर्यावरणीय क्षेत्र तथा जलवायुको हिसावले हेर्दा पनि उच्च पहाडी, मध्य पहाडी र होचो नदीतट तथा बेंशी क्षेत्र गरी ३ भागमा विभाजन भएको हुँदा यहाँको जलवायुमा पनि सोही अनुसारको भिन्नता पाइन्छ । समुद्र सतहको १५२४ मिटर देखि ७३३७ मिटर सम्मको उचाईमा अवस्थित यस जिल्लामा शितोष्ण, समशितोष्ण र उतोष्ण तीनै किसिमको हावापानी पाइन्छ । यस जिल्लाको अधिकतम तापक्रम, १०º देखि २५º सेल्सियस र न्यूनतम तापक्रम –१०º देखि –२८º सम्म पुग्ने गर्दछ । यस जिल्ला नेपालको सुदुर उत्तर पश्चिम भेगको हिमाली भागमा अवस्थित रहेको हुँदा तुलनात्मक रुपमा यहाँ वर्षा कम हुन्छ । यहाँको वार्षिक औषत वर्षा २५.४ देखि १४६.९ मिमि सम्म भएको पाइन्छ ।
विविधतापूर्ण हावापानी र भू–प्राकृतिक संरचनाका कारणले गर्दा नेपालको अन्य उच्च पहाडी जिल्ला जस्तै यहाँको हावापानी पनि विषम र विविधतापूर्ण रहेको पाइन्छ । उचाईको भिन्नता र पहाडी ढालको उत्तरी तथा दक्षिणी पाटाहरु समेतमा पनि हावापानीमा भिन्नता पाइन्छ र जिल्लाका चारैतिर अग्ला लेक तथा पहाडहरुमा प्रायः बाह्रै महिना हिउँ जमिरहन्छ ।यस जिल्लामा अग्ला हिमाल, पहाड र लेक भएको हुँदा जलश्रोत र पर्यावरणीय विविधतामा धनि रहेको यस क्षेत्रमा बाह्ै महिना हिउँ जमेको हुन्छ भने अन्य उच्च पहाडी भागमा पनि हिउँदको समयमा हिउँ पर्दछ ।
२.६ जलभण्डार
हुम्ला जिल्ला जलश्रोतको धनी जिल्लाको रुपमा रहेको छ । नेपालको सबभन्दा लामो नदी कर्णाली तिब्बतबाट यारी नाका भएर प्रबेश गरी लगभग हुम्ला जिल्लालाई बीच पारेर बगेको छ । यसको साथै यहाँ १०० भन्दा बढी हिमालबाट हिउँ पग्लेर बग्ने स्थायी श्रोत भएका नदीहरु, २० भन्दाबढी प्राकृतिक रुपले रमणीय र साँस्कृतिक रुपले महत्वपूर्ण तालतलैया, मुल तथा झरनाहरु रहेका छन् ।
२.७. मुख्य चाडपर्वहरु
यस जिल्लामा हिन्दु र वौद्ध धर्मालम्वीहरुको वसोवास रहेकोले राष्ट्रिय चाडपर्वहरु दशै, तिहार, माघे संक्रान्ती चैते दशै आदि जस्ता चाडपर्वको साथै स्थानीय चाडपर्वहरु पनि मनाउने प्रचलन रहेको छ । स्थानीय चाडपर्वमा साउने संक्रान्ती, अनन्ते पूर्णिमा (ईन्द्र जात्रा), गौरा पर्व दशै तिहार भन्दा पनि धुमधाम साथ मनाउने गरिन्छ । यस चाडमा स्थानीय देउडा लोक नृत्य महिला र पुरुषको समूह बनाई गाउने तथा नाच्ने गरिन्छ । वौद्ध धर्मालम्वीहरुले लोसार, माने र रलिङ्क पूर्णिमा आदि धुमधाम साथ मनाउने गर्दछन ।
२.८ भेषभूषा
यस जिल्लामा पाईने हावापानीको विविधताका कारण रहन सहन र भेषभूषामा पनि विविधता रहेको पाइन्छ । हुम्ला जिल्लाको भौगोलिक वनावटलाई मुख्यतया तीन भागमा वाडेर हेर्दा जिल्लाको उत्तरी भागका गा.वि.स. हरुमा प्रायः जसो हिउ पर्ने र अत्यधिक जाडो हुने गर्दछ भने सो क्षेत्रमा सवै वौद्ध धर्मालम्वीहरुको वसोवास भएको हुँदा भेषभूषामा वख्खु, पाखोको सुरुवाल, दोचा लगाउने गरेको पाइन्छ भने जिल्लाको मध्य भागमा केही न्यानो हावापानी हुने हुँदा र प्रायः जसो हिन्दु धर्मालम्वीहरुको वसोवास भएकोले दौरा सुरुवाल, कोट, चोलो धोती तथा पेण्ट सर्ट लगाउने गर्दछन । त्यस्तै जिल्लाको दक्षिणी भागमा मध्य भागको तुलनामा न्यानो हावाँपानी पाईने र प्रायः हिन्दु धर्मालम्वीहरुको वसोवास भएकोले हिन्दु परम्परा अनुसार दौरा सुरुवाल, कोट, चोलो धोती तथा पेण्ट सर्ट लगाउने गरेको पाइन्छ ।
यस जिल्लाका महिलाहरुले स्थानीय परम्परागत गरगहनाका साथै आधुनिक गरगहना समेत लगाउने प्रचलन रहेको छ । स्थानीय गरगहनामा पोते, कौडाका माला, मुगा र सिक्काका माला साथै फुली वुलाकी, टोप औठी आदि लगाउने गरेको पाइन्छ भने वौद्ध धर्म मान्ने महिलाहरुले कानमा आङगुल, गलामा मोतीका माला र औंलामा औठी लगाउने गर्दछन ।
२.९ मूल्य मान्यता र विश्वास
यस जिल्लाका हिन्दु तथा वौद्ध धर्मालम्वीहरु दुवैमा धामी, झाक्री तथा लामामा विश्वास रहेको पाइन्छ । प्रायः जसो ग्रामिण भेगका घर परिवारका सदस्य विरामी पर्दा कृषि तथा पशु समस्या देखा पर्दा समेत धामी, झाक्री तथा लामाबाट उपचार गर्ने प्रचलन रहेको छ ।
दुवै धर्मालम्वीहरुले आ–आफ्नो संस्कार अनुसार जन्म देखि मृत्यूसम्मका विभिन्न संस्कारहरु जस्तै न्वारान, पास्नी, व्रतवन्ध, विवाह र मृत्यू पछि काजक्रिया गर्ने चलन रहेको पाइन्छ । मृत्यू पश्चात लाशलाई जलाउने र वच्चाहरुको भए जमिनमा गाड्ने चलन रहेको छ । मृत्यु हुँदा प्रायः १२ दिन काजक्रिया वसी १३ औ दिनमा क्रिया सक्ने चलन रहेको छ । वुवा मर्दा एक वर्षसम्म मासु नखाने र आमा मर्दा १ वर्षसम्म दुध नखाने चलन पनि रहेको छ । वौद्ध धर्मालम्वीहरुको भने लाश लाई लामाले जोखाना हेरी जलाउने जमिनमा पुर्ने वा काटेर चिल वा गिद्धलाई खुवाउने प्रचलन रहेको पाइन्छ । हिन्दु धर्मालम्वी महिलाहरुमा नछुने (छुइ) हुँदा ७ दिनसम्म र सुत्केरी हुँदा अछुत भई छुन नहुने परम्पराले गर्दा १५ देखि ४५ दिनसम्म पशु राख्ने गोठमा राख्ने र त्यही खाना दिने प्रचलन रहेको छ । हिन्दु धर्मालम्वीहरुले छोरा जन्मेमा धुमधाम साथ पुरेत लगाई ९ दिनमा न्वारान गर्ने र छोरी भएमा ६ दिनमा नै न्वारान गर्ने प्रचलन रहेको पाइन्छ । केटाहरुको ७ देखि १६ वर्षको उमेरमा व्र्रतवन्ध गर्ने गरिन्छ भने त्यस पछि व्राह्मण, शाही, ठकुरी जस्ता माथिल्लो जातकाले आफु भन्दा तल्लो जातले छोएको नखाने परम्परा भए पनि हाल क्रमशः हट्दै गएको पाइन्छ । यस जिल्लामा हालसम्म पनि छुवाछुतको चलन रही रहेको पाइन्छ ।
२.१०. विवाह पद्धती तथा वैवाहिक प्रचलन
यस जिल्लामा विवाह पद्धति परम्परागत ढंगले नै हुने गरेको पाइन्छ । जसले गर्दा वाल विवाह अझैसम्म पनि प्रचलित रहेको पाइन्छ । प्रायः विवाहको उमेर १० वर्ष देखि २० वर्षसम्म गर्ने प्रचलन रहेकोछ । व्राह्मण जातीले छोरीको विवाह महिनावारी नहुदै गरी दिने प्रचलन अझै कायमै रहेको पाइन्छ । विवाह भएकी आईमाईलाई अर्काले विवाह गरेमा जारी तिर्नु पर्ने परम्परा अझैसम्म रहेको छ । जारीको प्रकृति तथा अवस्था हेरी १०÷१५ हजार देखि २ लाखसम्म हुने गरेको पाइन्छ । जो पुरुषले जारीको रकम धेरै तिर्न सक्छ उ समाजमा मान्य हुन्छ । यस जिल्लामा रहेका लामा जातीहरुमा अझै वहुपति प्रथाको प्रचलन रहेको पाइन्छ । सवै दाजु भाईले एउटै श्रीमति राख्ने प्रचलन रहेको छ । यदि छुट्टै विवाह गरेमा अंशबाट वञ्चित हुने र छुट्टै वस्नु पर्ने जस्ता वाध्यता रही आएको छ । आधुनिक जीवनको प्रभावसँगै यो प्रचलन विस्तारै हट्दै गएको पाईन्छ ।
२.११.मठ मन्दिर र गुम्वाहरु
यस जिल्लाका २७ वटा गा.वि.स.हरु मध्ये वौद्ध धर्मालम्वीहरुको वसोवास रहेको गा.वि.स. हरुमा लिमि, मुचु, खगालगाँउ, हेप्का, वरगाँउ, सिमकोट, ठेहे गरी ७ वटा गा.वि.स. हरु रहेका छन भने अन्य गा.वि.स. हरुमा क्षेत्री जातीको वाहुल्यता रहेको छ । यस जिल्लामा हिन्दुहरुका प्रचलित मनिदरहरुमा खार्पूनाथ, महादेवल मन्दिर, लवासुर माडु, भगवती माडु आदि रहेका छन भने वौद्ध धर्मालम्वीहरुको गुम्वाहरुमा रलिङ्ग गुम्वा, याल्वाङ्ग गुम्वा, रिझिलिङ्ग गुम्वा आदि प्रमुख रुपमा रहेका छन् ।